सरकारले पेट्रोलिम आपूर्तिमा असहजता उत्पन्न भएको भन्दै सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले भोलिदेखि नै लागु हुने गरी सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेको हो ।
योसँगै अब सबै कार्यालय बिहान ९ बजे खुल्ने छन् भने अपरान्ह ५ बजे बन्द हुने छन् ।
त्यस्तै बैठकले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।
मन्त्री पोखरेलले ‘डिजिटल नेपाल ट्रान्फरमेसन प्रोजेक्ट’का लागि एसियाली विकास बैंकबाट प्राप्त ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट प्राप्त ५० मिलियन डलर गरी ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
त्यसैगरी दिगो र समावेशी वित्त परियोजना विश्व बैंकबाट ९५ मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
बैठकले नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय र आयोग अन्तर्गतका निकायहरुको संगठन तथा व्यवस्था सर्वेक्षण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पूर्वस्वीकृत दिने निर्णय गरेको छ ।
त्यसैगरी डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय गरेको पनि पनि मन्त्री पोखरेलले जानकारी दिए । बैठकले राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।